News & Notice

Three-Day Orientation Program to Enhance the Quality of Tourism and Hospitality Services

बुढानीलकण्ठमा पर्यटन तथा आतिथ्य सेवा गुणस्तर अभिवृद्धिका लागि ३ दिने अभिमुखीकरण कार्यक्रम सुरु

बुढानीलकण्ठ, असार ८ । बुढानीलकण्ठ नगरपालिका तथा बुढानीलकण्ठ पर्यटन बोर्डको आयोजनामा नगरपालिकाभित्र सञ्चालनमा रहेका होटल, रिसोर्ट, होमस्टे तथा रेष्टुरेन्टहरूले प्रदान गर्ने सेवाको गुणस्तर अभिवृद्धि गर्ने उद्देश्यले तीन दिने अभिमुखीकरण कार्यक्रम आजदेखि सुरु भएको छ।

पर्यटन तथा आतिथ्य क्षेत्रको सेवा स्तरलाई अझ व्यावसायिक, प्रभावकारी र पर्यटकमैत्री बनाउने लक्ष्यसहित आयोजना गरिएको उक्त कार्यक्रममा होटल, रिसोर्ट, होमस्टे तथा रेष्टुरेन्टका सञ्चालक तथा व्यवस्थापकहरूको सहभागिता रहेको छ।

कार्यक्रममा ब्यापार बृद्धि बिकल्प  कम्पनीको सहकार्य रहेको छ। कार्यक्रममा नेदरल्याण्ड्सका पर्यटन तथा आतिथ्य क्षेत्रका विज्ञ Mr. Jean Van Der Hoeven ले सहजकर्ताका रूपमा प्रशिक्षण तथा सहजीकरण गरिरहनुभएको छ। उहाँले अन्तर्राष्ट्रिय स्तरको पाहुना सत्कार, सेवा व्यवस्थापन, ग्राहक सन्तुष्टि तथा पर्यटन व्यवसायको गुणस्तर अभिवृद्धिसम्बन्धी विषयमा सहभागीहरूलाई अभिमुखीकरण गराउनुहुनेछ।

बुढानीलकण्ठ पर्यटन बोर्डका अनुसार नगरपालिकाको भ्रमणमा आउने आन्तरिक तथा बाह्य पर्यटकलाई यस क्षेत्रका होटल, रिसोर्ट, होमस्टे तथा रेष्टुरेन्टमार्फत उत्कृष्ट पाहुना सत्कारको अविस्मरणीय अनुभव प्रदान गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको हो।

तीन दिनसम्म सञ्चालन हुने उक्त अभिमुखीकरण कार्यक्रम २०८३ साल असार १० गते सम्पन्न हुने जनाइएको छ। कार्यक्रमबाट स्थानीय पर्यटन व्यवसायीहरूको क्षमता अभिवृद्धि हुनुका साथै बुढानीलकण्ठलाई गुणस्तरीय तथा आकर्षक पर्यटन गन्तव्यका रूपमा स्थापित गर्न महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ।